रौतहट, १० असार/ रौतहटको चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, उद्योग, पर्यटन तथा उद्यमशीलतालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।चन्द्रपुर नगरपालिकाको नगरसभाको १७औँ अधिवेशनमा नगर उपप्रमुख जयमाला कुमारी चौधरीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा नगरको समग्र विकास, सेवा प्रवाह सुधार र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित कार्यक्रमहरू अघि सारिएको छ।
नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा समृद्ध र सुखी नगर निर्माणको दीर्घकालीन सोचलाई आधार बनाइएको उल्लेख छ। “उन्नत शिक्षा, सुदृढ स्वास्थ्य र आधुनिक पूर्वाधार : समृद्ध र सुखी चन्द्रपुर नगरको आधार” भन्ने लक्ष्यसहित बजेट तथा कार्यक्रम तयार गरिएको जनाइएको छ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले कुल १ अर्ब २१ करोड ८० लाख रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ। बजेटमा संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा नगरपालिकाको आन्तरिक आम्दानीलाई समेटिएको छ। जसमध्ये चालुतर्फ रु ८५ करोड र पुँजीगततर्फ ३५ करोड ९३ लाख रहेको छ।संविधानको व्यवस्था, संघीय तथा मधेश प्रदेश सरकारबाट जारी नीति, कानुन, दीगो विकासका लक्ष्य तथा नगरवासीको आवश्यकता र सुझावलाई आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको उपप्रमुख चौधरीले बताउनुभयो।
बजेटले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षाको विकासमा जोड दिएको छ। विद्यालयको भौतिक अवस्था सुधार, शिक्षण सिकाइ प्रणालीमा सुधार तथा विद्यार्थीको क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।स्वास्थ्य क्षेत्रमा नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा स्वास्थ्य सचेतना विस्तार गर्ने नीति लिइएको छ।नगरपालिकाले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। कृषि तथा पशुपालनको आधुनिकीकरण, सीप विकास, स्वरोजगार प्रवर्द्धन र स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिएको छ।
सहकारी क्षेत्रलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने, महिला तथा लक्षित वर्गको आर्थिक सशक्तीकरण गर्ने तथा स्थानीय स्रोत–साधनको उपयोगमार्फत आयआर्जन बढाउने नीति लिइएको छ।पर्यटन विकासतर्फ चन्द्रपुरका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्भावनालाई उपयोग गर्दै पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। साथै सडक, खानेपानी, सरसफाइ, पूर्वाधार निर्माण तथा डिजिटल सेवाको विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।
नगर उपप्रमुख चौधरीले सीमित स्रोत–साधनका बीच नगरको आवश्यकता, नागरिकको अपेक्षा र दीर्घकालीन विकासलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको बताउनुभयो। प्रस्तावित बजेट कार्यान्वयनबाट चन्द्रपुरको सामाजिक, आर्थिक र भौतिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।
Comments