चन्द्रनिगाहपुर , १२ असार / लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा लागूऔषधको बढ्दो प्रयोग र यसबाट पर्ने सामाजिक असरबारे सचेतना फैलाइएको हो।
कार्यक्रमको सभापतित्व रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका प्रमुख उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी, चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरी, प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाल, चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सहदेव केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपक रेग्मी, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजयकुमार कार्की लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले लागूऔषधको समस्या केवल सुरक्षा निकायको मात्र नभई सम्पूर्ण समाजको साझा चुनौती भएको बताउनुभयो। उहाँले लागूऔषधको प्रयोगले युवाको भविष्य बिगार्नुका साथै परिवार, समाज र राष्ट्रमै नकारात्मक प्रभाव पार्ने भएकाले यसको नियन्त्रणका लागि अभिभावक, विद्यालय, समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले लागूऔषध नियन्त्रणका लागि प्रहरीले निरन्तर निगरानी र कानुनी कारबाही गर्दै आएको बताउँदै यसको रोकथाममा समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। उहाँले युवापुस्तालाई लागूऔषधबाट टाढा राख्न सचेतना, शिक्षा र सकारात्मक वातावरण निर्माणमा जोड दिनुपर्ने बताउनुभयो।
सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले लागूऔषधको ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउँदै सीमाक्षेत्र तथा संवेदनशील क्षेत्रमा निगरानी थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले लागूऔषधले परिवार र समाजमा गम्भीर समस्या निम्त्याइरहेको भन्दै स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै विद्यार्थीलाई यसको असरबारे जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा सुरक्षाकर्मीहरूको समेत सहभागिता रहेको थियो। विद्यार्थीहरूले सुरक्षा निकायका पदाधिकारीहरूसँग लागूऔषध नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आग्रह गर्दै नयाँ पुस्तालाई दुर्व्यसनबाट जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए।
कार्यक्रममा उज्ज्वल भविष्य सुधार गृहका सञ्चालक अर्जुन बानियाँले लागूऔषध बनाउने वा दुरुपयोग गर्न सकिने औषधिहरू स्थानीय मेडिकलबाट सहजै बिक्री भइरहेको गुनासो गर्नुभयो। उहाँले यस्ता औषधिको बिक्री वितरणमा कडाइ गर्न सरकार र सुरक्षा निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो।ने
पाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजयकुमार कार्कीले लागूऔषध नियन्त्रणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै जनचेतना फैलाउन पत्रकारिता क्षेत्रले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका वक्ताहरूले लागूऔषध मानव जीवनलाई अन्धकारतर्फ धकेल्ने गम्भीर समस्या भएको भन्दै यसको नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए। सचेतना, निगरानी र प्रभावकारी कानुनी कार्यान्वयनबाट मात्रै लागूऔषध दुरुपयोग न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ थियो।
Comments