रौतहट, २३ असार / रौतहटको ईशनाथ नगरपालिका–३, औरैयामा जग्गा विवादका कारण भएको झडपमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति करिब ८:१५ बजे स्थानीय रामबहादुर साह पक्ष र रामाऔतार साह पक्षबीच जग्गाको विषयलाई लिएर विवाद भएपछि झै–झगडा तथा कुटपिट भएको थियो। सोही क्रममा रामाऔतार साहका छोरा २६ वर्षीय राम महेश्वर साहले रामबहादुर साहका ज्वाइँ ६० वर्षीय वुटन साहलाई चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट वुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो। घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि उपचारकै क्रममा राति करिब ९:०५ बजे चिकित्सकले मृत घोषणा जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार सोही घटनामा टाउकोमा चोट लागेर घाइते भएका ८० वर्षीय रामबहादुर साहको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि चक्कु प्रहारमा संलग्न रहेको आरोपमा राम महेश्वर साह तथा उनका बुवा रामाऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता गौतमले बताउनुभयो ।
Comments