Skip to content

बेमौसमी वर्षाले रौतहटका इँटा उद्योगमा करिब ९ करोडको क्षति

20260323_161208
प्रकाशित:
शब्दको आकार

रौतहट , ९ चैत्र / गत शुक्रबार र शनिबार आएको बेमौसमी वर्षाका कारण रौतहट जिल्लाका इँटा उद्योगहरूमा ठूलो आर्थिक क्षति पुगेको छ । भट्टामा पोल्नका लागि तयार पारिएका काँचो इँटाहरू वर्षाको पानीले पूर्ण रूपमा नष्ट हुँदा उद्योगीहरू गम्भीर मारमा परेका छन् । रौतहट इँटा उद्योग व्यवसायी संघको प्रारम्भिक अनुमानअनुसार जिल्लामा करिब ३ करोड हाराहारी काँचो इँटा नष्ट भएका छन् । एउटा काँचो इँटा उत्पादन गर्न करिब ३ रुपैयाँसम्म लागत लाग्ने भएकाले कुल क्षति करिब ९ करोड रुपैयाँ हाराहारी पुगेको संघले जनाएको छ ।

इँटा उत्पादन प्रक्रिया निकै समय र श्रमसाध्य हुने भएकाले यस्तो क्षतिले उद्योगीहरूलाई थप चिन्तित बनाएको छ । माटो संकलन, त्यसलाई प्रशोधन गरेर ढाँचामा हाल्ने र घाममा सुकाउने जस्ता चरण पार गरेपछि मात्र इँटा पोल्न योग्य हुन्छ । तर, पोल्नुअघि नै परेको वर्षाले सम्पूर्ण तयारी व्यर्थ बनाइदिएको उद्योगीहरूको भनाइ छ ।‘हामीले महिनौँको मेहनतले तयार पारेका इँटाहरू एकैपटक परेको वर्षाले नष्ट गरिदियो । लगानी मात्र होइन, समय र श्रम पनि खेर गयो। मेरो मात्र १० लाख हाराहारीमा काँचो इँटाको क्षति भएको छ । यसपटक राम्रो उत्पादन होला भन्ने थियो वर्षाको पानीको चौपट बनाइदियो ।’ उदय इँटा उद्योग गुजरा ९ का सञ्चालक रामचन्द्र घिमिरे दुःखेसो गर्छन् । रौतहट जिल्लाका ९ वटा ठुला गरेर ५७ वटा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । यहाँ उत्पादन गरिएका इँटाहरुको जिल्लामा मात्र नभएर काठमाडौं, भरतपुर, पोखरा लगायतका स्थानहरुमा पनि राम्रो माग रहेको छ । हरेक वर्ष माघ महिनादेखि जेठ अन्तिमसम्म इँटा उत्पादन गर्ने गरिन्छ । काँचो इँटालाई गर्मी महिनामा ३–४ दिसम्म र जाडो महिनामा ९–१० दिनसम्म खुल्ला अकासमा सुकाउनका लागि छाडिन्छ । यसरी सुकीसकेपछि मात्र इँटालाई भट्टामा पोल्न लगिन्छ । तर वेमौसमी वर्षाले भट्टामा पोल्नुअघिनै सुकाउन चाङ लगाएर राखेको ठाउँमै इँटा नष्ट गरेपछि व्यवसायीहरु ठुलो मार्कामा परेका छन् । रोयल इँटा उद्योग गुजरा ९ का सञ्चालक शेख नौसादले बेमौसमी वर्षाले आफुहरु पोल्न तयारी अवस्थामा राखेको करिब ३ लाख भन्दा बढिको काँचो इँटा नष्ट गरेको बताउँदै राज्यले बीमाको व्यवस्था नगरिदिनाले वर्षेनी क्षति व्यवसायीहरुले एकलौटी बेहोर्नु परिरहेको गुनासो गरे । वर्षेनी आउने बेमौसमी वर्षाले ठुलो संख्यामा काँचो इँटा नष्ट गरेपनि बीमा कम्पनीहरुले सरकारको निति नभएकाले बीमा गर्न नमानेको उनको भनाइ छ । आफुहरुले यस विषयमा यसअघिका सबै सरकारहरु समक्ष गुनासो राखेर पनि कुनै पनि सरकारले आफुहरुको मागलाई सम्बोधन नगरेको इँटा उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य मोहन साहले गुनासो गरे ।

उनले आफुहरुले राज्यलाई कर र नागरिकहरुलाई रोजगार दिएपनि राज्यले भने सधैं उपेक्षा मात्र गरिरहेको भन्दै अब बन्ने बालेन नेतृत्वको सरकारले आफुहरुको मागको सुनवाई गर्ने आशा व्यक्त गरे । ‘अरु सरकारले त सुनेन अब परिवर्तनको जगमा बन्न गइरहेको बालेन नेतृत्वको सरकारले त सुन्छ कि भन्ने हामीलाई आशा छ । हामीलाई बीमाको व्यवस्था मात्र गरिदिएपनि ठुलो राहत हुन्थ्यो । नत्र वर्षेनी घाटा खानुपर्दा जिल्लाका इँटा उद्योगहरु बन्द भइरहेका छन् ।

’उद्योगीहरूले सरकारसँग राहत, सहुलियत कर्जा तथा क्षतिपूर्तिको माग गरेका छन् । धेरैजसो उद्योगीहरूले ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका हुँदा यस्तो क्षतिले उनीहरूको आर्थिक अवस्था झनै कमजोर बनाएको छ। व्यवसायीहरू अहिले तनावपूर्ण अवस्थामा रहेको बताइएको छ ।

यस्तो अवस्थामा सरकारले व्यवसायीहरुलाई साथ दिनुपर्ने उनीहरुको भनाइ छ । उनीहरूले यस समस्याको दीर्घकालीन समाधान खोज्न तीनै तहको सरकारले योजनावद्ध ढंगले योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts