रौतहट, असार १४ ।रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेश कमिटीको सचिवालय बैठक तथा भेला रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ। प्रदेश अध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मधेस प्रदेशका आठवटै जिल्लामा संगठन विस्तार तथा विभिन्न कार्ययोजनाअनुसार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।बैठकले मधेस प्रदेशका प्रत्येक जिल्लामा संयोजक तोक्दै संगठनलाई थप सक्रिय बनाउने निर्णय गरेको हो। बैठकबाट सप्तरी जिल्लाको संयोजकमा एदु नन्दन यादव, सिराहामा देवनाथ यादव, धनुषामा सफिक नदाफ, महोत्तरीमा सुशील कुमार यादव, सर्लाहीमा उमेश आले, रौतहटमा नवराज बिष्ट, बारामा अर्जुन बानियाँ र पर्सामा बालकृष्ण अर्याललाई जिम्मेवारी दिइएको छ।
बैठकले आगामी कार्यक्रमका विषयमा समेत छलफल गर्दै असार १५ गते बिहान १० बजे रिटर्नी फेडेरेसन नेपाल रौतहट जिल्ला कमिटीको आयोजनामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रममार्फत संगठनलाई समुदायसँग जोड्ने उद्देश्य रहेको जनाइएको छ।
बैठकमा प्रमुख अतिथिका रूपमा रिटर्नी फेडेरेसन नेपालका महासचिव खेम कार्की सहभागी हुनुभएको थियो भने पार्टी केन्द्रीय सदस्य आरती भण्डारीले प्रमुख वक्ताका रूपमा धारणा राख्नुभएको थियो। कार्यक्रममा रिटर्नी फेडेरेसनका केन्द्रीय सचिव सिता बस्याल, संस्थापक उपाध्यक्ष रामकृष्ण घिमिरे, पार्टी नगर कमिटी अध्यक्ष शिव आचार्य, फेडेरेसनका केन्द्रीय सदस्य गोकुल तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।
बैठकमा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप, अनुभव र क्षमतालाई सदुपयोग गर्दै उनीहरूलाई सामाजिक तथा आर्थिक गतिविधिमा जोड्ने विषयमा समेत छलफल भएको बताइएको छ। संगठनका आगामी गतिविधिहरूलाई प्रभावकारी बनाउन जिल्ला तहसम्म जिम्मेवारी बाँडफाँट गरिएको र स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
Comments