Skip to content

सबगढा घटनामा २२ जनाविरुद्ध आपराधिक उपद्रोह र आगजनी मुद्दा

20260223_102144
प्रकाशित:
शब्दको आकार

रौतहट, १२ फागुन/ रौतहटको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न विवादपछि भएको तोडफोड तथा आगजनी घटनामा संलग्न २२ जनाविरुद्ध प्रहरीले आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट ले घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।गत बिहीबार एक विवाह समारोहका क्रममा दुई समुदायबीच सामान्य विवाद चर्किँदै जाँदा सद्भाव भड्काउने गतिविधि तथा तोडफोड भएको थियो। सो घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ अभियान सञ्चालन गरेको हो।पक्राउ पर्नेहरूमा शुभनारायण साह, समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दीपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार गत शनिबार घटनालाई थप चर्काएर तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई पुनः पक्राउ गरिएको हो। उनीहरूविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी सूक्ष्म अनुसन्धान भइरहेको उनले जानकारी दिए।यसैबीच गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्व वडाध्यक्ष तथा जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको अवस्थामा उपस्थित हुने सर्तमा रिहा गरिएको प्रहरीले जनाएको छ। जिम्मा जमानीमा छुटेका उनीहरूसहित तीन जनाको मोबाइल प्रहरी नियन्त्रणमा राखिएको छ। मोबाइल परीक्षणका लागि काठमाडौं पठाइने र दोष पुष्टि हुने प्रमाण फेला परेमा सोही कसुरअनुसार पुनः नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरी नायब उपरीक्षक बस्यालले बताए।प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको छ।

प्रशासनले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन र अफवाहमा नलाग्न आग्रह गरेको छ।घटनापछि स्थानीय प्रशासनले सबगढा क्षेत्रमा शनिबार दिउँसो १ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो। सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाइएको छ। सोमबार बिहान सबगढा गाउँमा सद्भाव र्‍याली आयोजना गरिएपछि हाल क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।प्रहरीले सामाजिक सद्भाव भंग गर्ने तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने जोसुकैलाई कानुनको दायरामा ल्याइने चेतावनी दिएको छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts